काठमाडौं । एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको हो ।
यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिए पनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको संख्या ३०१ सदस्यीय हुने टुंगो लगाएको हो । सोहीअनुसार अब बन्दसत्रमा प्रस्ताव पेस हुनेछ ।
एमालेमा विधान महाधिवेशनले पारित गरेको केन्द्रीय कमिटीको व्यवस्थालाई केन्द्रीय समिति बैठकले उल्टाएपछि विवाद सुरु भएको छ । इतर पक्षले अध्यक्ष केपी ओलीको आलोचना गरेको छ । नेताहरूबीच विभाजन हुँदा अध्यक्षमण्डल नै नबनी बन्दसत्र सुरु भएको छ । अब महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीको अनुमति लिएर मात्रै बोल्न पाइने नियम सुनाइएको छ।
महासचिव शंकर पोखरेलले आचार संहिता सुनाउँदै अध्यक्षको अनुमति लिएर मात्रै बोल्न पाइने बताएका हुन् । अध्यक्ष मण्डल घोषणा नगरी आफै कार्यक्रम चलाएका ओलीले अनुमति दिएको बेला मात्रै बोल्न पाइने भएपछि नेताहरु विभाजित भएका छन् । यसले एमालेमा व्यापक ध्रुवीकरण बढेको स्पष्ट देखिन्छ ।








