उज्ज्वल उपाध्याय, मौसमविद्

श्रावणको पहिलो साता सकिँदै गर्दा पनि मनसूनले अपेक्षित वर्षा गराउन सकेको छैन। कम्तीमा आउँदो शनिबारसम्म पनि ठूलो वर्षा गराउने मौसमी प्रणाली देखिएको छैन। मनसूनी बादलहरू छरिएर रहेका छन्, जसले सघन वर्षा गराउन सकेका छैनन्। कतैकतै अल्पकालीन भारी वर्षा भएको भए पनि त्यो झरीजस्तो व्यापक र निरन्तर नभएको अनुभूति भइरहेको छ।

ADVERTISEMENT

मनसून प्रवेश गरेदेखि अहिलेसम्म पूर्वी नेपालका पाँच जिल्ला- ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटाबाहेक अन्यत्र औसत वा माथिको वर्षा हुन सकेको छैन। बरु तराईका अधिकांश भूभागमा खडेरी गहिरिँदै गएको छ। जमिन फाटेको छ, खेत चिराचिरा छन्, नदीहरू सुक्दै गएका छन् ।

ADVERTISEMENT

मौसम पुर्वानुमान गर्ने निकाय सँग आम नागरिक क्रोधित देखिन्छन् । तर मौसमी पूर्वानुमान गर्ने निकायले वर्षा गराउने होइन, कहाँ र कहिले वर्षा हुनसक्छ भन्ने अनुमानमात्र गर्ने हो। तर यो वर्ष पूर्वानुमानहरू अपेक्षाकृत धेरै असफल भइरहेका छन। द्रूतगतिमा भईरहेको जलवायु परिवर्तनको कारणले हुन्सक्छ, बिगतमा सही पूर्वानुमान गर्ने गणितीय विधिहरु पनि असफल भईरहेका छन् ।

गत शनिबार र आइतबार ठूलो वर्षाको सम्भावना अनुमान गरिए पनि तराई र बागमती क्षेत्रमा न्यून मात्रामा पानी परेको थियो । पूर्वी जिल्लाहरूमा भने अपेक्षाकृत धेरै वर्षासहित कतिपय ठाउँमा बाढी र पहिरोका घटनासमेत देखिए। यस्तै घटना गण्डक क्षेत्र र सुदूरपश्चिमका केही भागहरूमा पनि देखा परे। तर आउँदो २–४ दिन ठूलो वर्षाको कुनै सम्भावना देखिँदैन। यस्तो अवस्थामा तराईको खडेरी सबैभन्दा गम्भीर चुनौती बनेको छ।

ADVERTISEMENT

वर्षा हुँदा पनि त्यो छोटो अवधिको र सीमित क्षेत्रमै सीमित हुने समस्या यस वर्षको मनसूनको मुख्य विशेषता देखिएको छ। श्रावण महिना चलिरहँदा खेतहरू सुक्दैछन्, नदीहरू थलिँदै छन्। यदि यही अवस्थाले निरन्तरता पायो भने हिउँदसम्म तराईमा पानीको अवस्था भयावह हुन सक्छ। बचेखुचेका चापाकल, ढोल, र खानेपानी संस्थानका गहिरा बोरिङहरूसमेत सुक्ने खतरा बढेको छ।

केही वर्षअघि मैले तराईको भूमिगत जल दोहन नियन्त्रण र जल पुनर्भरणमा ध्यान नदिए स्थानीयरूपमै मानिसहरू ‘जल शरणार्थी’ बन्न सक्छन् भन्ने चेतावनी दिएको थिएँ। दुःखको कुरा, त्यो भविष्यवाणी धेरै चाँडै साकार हुँदै गएको देखिन्छ। समाधानको खोजीमा कसैको ध्यान नगएको अवस्था दुःखद छ, र सचेत हुन धेरै ढिला भइसकेको छ। यद्यपि आशाको एउटा धर्को बाँकी छ- मनसूनको अवधि अझै साढे दुई महिना जति बाँकी छ। यदि यस अवधिमा नियमित र सन्तुलित वर्षा हुन सक्यो भने केही राहत मिल्न सक्ने सम्भावना अझै बाँकी छ ।