काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीलाई सार्वजनिक स्थानमा गोप्य अंग प्रदर्शन गरेको आरोपमा शिक्षा मन्त्रालयका अधिकृत सुरेन्द्र भट्ट पक्राउ परेका छन्।
बैतडीको पाटन स्थायी घर भएका ५५ वर्षीय भट्टले आइतबार बिहान महालक्ष्मी नगरपालिका–२, इमाडोलमा हिँडिरहेकी एक युवतीलाई गोप्य अंग देखाएको आरोप लागेको हो। घटनापछि युवतीले उक्त दृश्यको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै सोमबार दिउँसो भट्टलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भट्टले क्षणिक आवेग र उत्तेजनामा आएर उक्त कार्य गरेको स्वीकार गरेका छन्। बयानका क्रममा उनले, “म क्षणिक आवेग र उत्तेजनामा आएँ, मेरो मति बिग्रियो,” भनेका छन्। घटनालगत्तै उनले युवतीसँग माफीसमेत मागेको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा प्रहरीले भट्टको मानसिक अवस्थाबारे चिकित्सकसँग पनि परामर्श गरेको थियो। प्रारम्भिक रूपमा उनको मानसिक अवस्था सामान्य रहेको देखिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार भट्ट शिक्षा मन्त्रालयका अधिकृत हुन् र मन्त्रालयको कामका सिलसिलामा देशका विभिन्न जिल्लामा समेत जाने गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








