काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार तीन सय ६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९ दशमलव पाँच प्रतिशत वृद्धि देखिएको हो ।

यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार चार सय २५ जनाले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार आठ सय ८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२ दशमलव शुन्य एक प्रतिशतले वृद्धि भएको हो ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार दुई सय ५४ जना आएका छन् । जुन कुल आगमनको ५२ दशमलव आठ प्रतिशत हिस्सा हो । मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार आठ सय नौ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार एक सय ५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७ दशमलव ६८ प्रतिशत हो । जसमा चीनबाट आठ हजार आठ सय ७५ पर्यटक आगमन भएको छ भने जापानबाट दुई हजार चार सय ९७, दक्षिण कोरियाबाट एक हजार सात सय ६५ तथा थाइल्यान्डबाट नौं सय ८४ पर्यटक नेपाल आएका छन् ।

ADVERTISEMENT

युरोपबाट १३ हजार एक सय १९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट तीन हजार दुई सय ६६, जर्मनीबाट एक हजार आठ सय ९२ र फ्रान्सबाट एक हजार दुई सय ६७ पर्यटक आएका छन् । अमेरिकाबाट ६ हजार नौ सय ५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको सात दशमलव ६१ प्रतिशत हो । यस अवधिमा अमेरिकाबाट पाँच हजार दुई सय ३७, क्यानडाबाट एक हजार दुई सय ९८ तथा ब्राजिलबाट दुई सय १९ पर्यटक आएका छन् ।

ADVERTISEMENT

त्यस्तै, ओसियानिया क्षेत्रबाट तीन हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६ दशमलव ३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७ दशमलव १७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट दुई हजार छ सय ९४ तथा न्यूजिल्यान्डबाट तीन सय ९० पर्यटक आएका छन् । अफ्रिकाबाट ६ सय ७४ तथा मध्यपूर्वबाट दुई सय ९२ जना पर्यटक नेपाल आएका छन् ।

ADVERTISEMENT

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो । बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।