काठमाडौं । विश्वकप फुटबलमा लगातार सात खेलमा गोल गर्ने अर्जेन्टिनाका लियोनल मेस्सी पहिलो खेलाडी बनेका छन् । पहिलो हाफमा बेन्चमा बसेका मेस्सी जोर्डनविरुद्ध दोस्रो हाफको ६०औं मिनेटमा मैदान छिरेर फ्रिकिकमार्फत गोल गरेका हुन् ।
मेस्सीको गोलसँगै अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले हराएको छ । खेलको ८०औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका थिए। यस्तै, ५५औं मिनेटमा जोर्डनका मुसा अल्तामारी गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए। मेस्सीको विश्वकपको गोल संख्या १९ पुगेको छ ।
डलास रंगशालामा सम्पन्न खेलको ३१औं मिनेटमा लाउटारो मार्टिनेज पेनाल्टीमार्फत गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै गरेका थिए। यस्तै, १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अष्ट्रियालाई २-० ले पराजित गरेको थियो । जोर्डनविरुद्ध कप्तान मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एक एक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।

यस्तै, फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेल ३–३ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १–१को बराबरी खेलेका दुवै टोलीले दाेस्राे हाफमा २-२ गोल थप गरेका हुन् । अस्ट्रियाका लागि खेलको ५५ औँ मिनेटमा मार्सल सबिट्जरले गोल हानेर टिमलाई २–१को अग्रता दिलाएका थिए । तर, ५ मिनेटमै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काए ।
त्यसअघि अस्ट्रियाले २८ औँ मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल दुवैतर्फबाट नभएपछि बराबरीमा टुंगिएको हो ।






