काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’को खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीतर्फ अग्रसर देखिएको थियो। तर दोस्रो हाफको अतिरिक्त समयमा कालेब यिरेनकीले गरेको निर्णायक गोलले घानालाई महत्वपूर्ण तीन अंक दिलायो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलको खाता खोल्न संघर्ष गर्नुपरेको थियो। अन्ततः यिरेनकीले इन्जुरी समयमा गोल गर्दै घानाको जित सुनिश्चित गरे।
यस जितसँगै घानाले समूह ‘एल’मा तीन अंक जोडेको छ। समान तीन अंक भए पनि गोलअन्तरका आधारमा इङ्ग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ भने घाना दोस्रो स्थानमा छ। पानामा र क्रोएसिया भने अंकविहीन रहँदै क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
यसैबीच, विश्वकपअन्तर्गत समूह ‘के’को अर्को खेलमा उज्वेकिस्तान र कोलम्बियाबीच नेपाली समयअनुसार साँझ ७:४५ बजे प्रतिस्पर्धा हुने तालिका रहेको छ।





