काठमाडौं । जेनजी सहिद स्मृति दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन)मा विशेष कार्यक्रम आयोजना गरिएको छ।
जेनजी सहिद परिवार कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बहालवाला मन्त्री, जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री, बहालवाला सांसद, आन्दोलनका घाइते तथा घाइतेका परिवार र सहिद परिवारका सदस्यहरूको उपस्थिति रहेको छ।
कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यहरू प्रियजनको सम्झनामा भावुक बनेका देखिन्थे। आफ्ना परिवारका सदस्य गुमाएको पीडा सम्झँदै कतिपयको आँखामा आँसु भरिएको थियो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र बलिदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा सहिद परिवारको पीडा, संघर्ष र अपेक्षाबारे समेत चर्चा गरिएको छ।
कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा उनीहरूका परिवारको पनि सहभागिता रहेको छ। सहिद परिवारले आफ्ना प्रियजनको बलिदानको सम्मानसँगै उनीहरूले उठाएका मुद्दा र योगदानको उचित सम्बोधन हुनुपर्ने अपेक्षा राखेका छन्।
स्मृति दिवसले आन्दोलनमा ज्यान गुमाउनेहरूको योगदान सम्झनाका साथै उनीहरूका परिवारले भोगिरहेको पीडालाई समेत सार्वजनिक बहसमा ल्याएको छ।







