काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथिको अनुसन्धान विशेष अदालतको निर्णयपछि मात्रै अघि बढाउने भएको छ।

अख्तियार स्रोतका अनुसार राहदानी छपाइ ठेक्का प्रक्रियामा भ्रष्टाचारजन्य कार्य भएको आशंका रहे पनि हाल दायर गरिएको मुद्दाको अदालती प्रक्रियाको परिणाम हेरेर मात्र राणामाथि थप अनुसन्धान गरिनेछ। सोही कारण उनको विषयमा परेको उजुरी तत्कालका लागि मुलतबीमा राखिएको बताइएको छ।

ADVERTISEMENT

अख्तियारले सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ।

ADVERTISEMENT

प्रकरणमा संलग्न रहेको आरोपमा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई समेत प्रतिवादी बनाइएको छ। राहदानी छपाइ प्रक्रियामा अनियमितता भएको उजुरीमाथि अनुसन्धानका क्रममा अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री राणालाई पनि बयानका लागि बोलाएको थियो।

यसअघि आयोगले बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद टाँसेर राणालाई उपस्थित हुन निर्देशन दिएको थियो। तर उनले हङकङबाट इमेलमार्फत उपचारका क्रममा रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराएकी थिइन्।

ADVERTISEMENT

विशेष अदालतमा दायर मुद्दाको फैसला र त्यसबाट स्थापित हुने कानुनी आधारका आधारमा राणामाथिको अनुसन्धानको दिशा तय हुने अख्तियार स्रोतले जनाएको छ।