काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

आइतबार भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग छलफल गर्दै उनले दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए।

ADVERTISEMENT

गृहमन्त्री गुरुङले सुकुम्बासीको समस्या सरकारको पनि साझा जिम्मेवारी भएकाले समाधानका लागि प्रभावित नागरिकको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गरे। “तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यसलाई गम्भीर रूपमा बुझेको छ। समाधानका लागि यहाँहरूको पनि सहयोग आवश्यक छ,” उनले भने।

ADVERTISEMENT

उनले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्याजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थसँग जोडेर नहेर्न आग्रह गर्दै सबै पक्षले जिम्मेवार ढंगले सहकार्य गर्नुपर्नेमा जोड दिए। सरकार समस्याको दिगो समाधान खोज्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।