काठमाडौ । गृहमन्त्री सुधन गुरुङविरुद्ध जेनजी अभियन्ताले मानव अधिकार आयोगमा उजुरी हालेका छन् । प्रहरी हिरासतभित्र प्रवेश गरी आफूहरुलाई ज्यान मार्ने धम्की तथा यातना दिएको भन्दै अजय सोडारीले सोमबार आयोगमा उजुरी दर्ता गराएका हुन् ।

गत जेठ १९ गते कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको अभिन्न अंग रहेको र भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने भन्दै सोडारीको समूहले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरीले पक्राउ गरेर उनलाई सोह्रखुट्टे प्रहरी वृत्त लगेको थियो । त्यतिबेला दलबलसहित प्रहरी हिरासत पुगेका गुरुङले गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको र त्यसले गम्भीर मानव अधिकार हनन भएको दावी उजुरी पत्रमा गरिएको छ ।

ADVERTISEMENT

‘गृहमन्त्री गुरुङको टोली प्रवेश गरेको मिति ०८३ जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सिसिटिभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर तत्काल नियन्त्रणमा लिई सुरक्षित राखियोस्’, पत्रमा भनिएको छ, ‘आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तत्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिई घटनाको सत्यतथ्य जाँचबुझ गरियोस्।’

ADVERTISEMENT

गृहमन्त्री गुरुङले आफूलाई जेनजी अभियन्ताको दाबी गर्दै आएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा आन्दोलनकारीलाई पानी वितरण गर्ने बहानामा सडकमा ओर्लिएका हामी नेपाल एनजिओका संयोजक गुरुङले लगत्तै आन्दोलन नै हाइज्याक गरेको आरोप छ ।

मानव अधिकार आयोगले गुरुङकै टीओबी समूहले जेनजी आन्दोलनलाई विध्वंशमा परिणत गरेको भन्दै उनलाई दोषी करार गरी कारबाहीको सिफारिससमेत गरेको छ । तर प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाएर पुरस्कृत गरेको भन्दै आक्रोश बढेको छ ।

ADVERTISEMENT