काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने प्रवृत्ति त्यागेर देश र जनताको सेवामा समर्पित हुन चेतावनी दिएका छन् ।
गृहमन्त्री गुरुङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्नु रहेको बताएका हुन् ।
उनले सरकारमा आएदेखि नै कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्दै अझै पनि दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए त्यस्तो सोच तत्काल त्याग्न आग्रह गरेका छन् ।
‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ– राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने,’ उनले लेखेका छन् ।
गुरुङले आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् । यस विषयमा कुनै सम्झौता नहुने उनको स्पष्ट भनाइ छ ।
सरकारलाई नेताको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख र समस्या बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने तथा देशप्रति समर्पित राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको उनले बताएका छन् ।












