काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ। सोमबार तोलामा ५ हजार रुपैयाँले बढेको सुनको भाउ मंगलबार थप ३ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

यसअघि आइतबार सुनको मूल्यमा १ हजार २ सय रुपैयाँ वृद्धि भएको थियो भने सोमबार एकैदिन ५ हजार रुपैयाँले बढेको थियो। पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ।

ADVERTISEMENT

यता चाँदीको मूल्य भने आज सामान्य घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका तथ्यांकअनुसार गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि सोही अवधिमा प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर ऐतिहासिक उचाइमा पुगेको थियो।

ADVERTISEMENT

बहुमूल्य धातुको मूल्यमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलर विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने गरेको व्यवसायीहरू बताउँछन्।