काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आयोजना अनुगमनका क्रममा दिएको ‘खुट्टा भाँचिदिनुस्’ भन्ने अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा बहस सुरु भएको छ। मन्त्रीको उक्त अभिव्यक्तिप्रति विभिन्न कोणबाट आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भने मन्त्रीको बचाउ गरेका छन्।

मन्त्री लम्साल आइतबार नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै सम्बन्धित ठेकेदारमाथि आक्रोश व्यक्त गरेका थिए। आयोजनामा विद्युत्का पोल नसारिँदा निर्माण कार्य प्रभावित भएको गुनासो आएपछि उनले पोल सार्ने जिम्मेवारी पाएको ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिएका थिए।

ADVERTISEMENT

सोही क्रममा उनले “काम गरेन भने खुट्टा भाँचिदिनुस्” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा व्यापक चर्चा भएको छ।

ADVERTISEMENT

यसै विषयमा प्रतिक्रिया दिँदै राप्रपा नेता ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमार्फत मन्त्रीको अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु नभई लापरवाही र ढिलासुस्तीविरुद्ध कडा सन्देश दिनु रहेको बताएका छन्।

“भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालज्यूले ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन्। तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु होइन, कानुन मिच्ने, लापरवाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो,” शाहीले उल्लेख गरेका छन्।

ADVERTISEMENT

उनले जनताको सेवामा बसेर जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने तथा राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

मन्त्री लम्सालले आयोजनालाई तीव्र गतिमा अघि बढाउन आवश्यक निर्माण सामग्री तथा प्रशासनिक सहजीकरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। करिब ९५ किलोमिटर लामो नागढुङ्गा–मुग्लिन सडकखण्ड तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ।

यसअघि पनि मन्त्री लम्सालको निर्देशनमा नौबिसे–मुग्लिन सडक आयोजनामा काम गरिरहेको निर्माण कम्पनीका सञ्चालक रमेश शर्मालाई प्रहरीमार्फत सिंहदरबार ल्याइएको घटना चर्चामा आएको थियो।