काठमाडौं। अब वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, पशुधन, कृषि तथा भौतिक संरचनामा पुग्ने क्षतिको जोखिमसमेत बीमाको दायरामा आउने भएको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनी (लघु निर्जीवन बीमकसहित) ले जारी गर्न सक्ने गरी ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ स्वीकृत गरेपछि यस्तो व्यवस्था लागू हुने भएको हो।

प्राधिकरणका अनुसार यो बीमालेख विशेषगरी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणको जोखिममा रहेका परिवारलाई लक्षित गरेर तयार गरिएको हो। पछिल्ला वर्षहरूमा हात्ती, बाघ, गैंडा, चितुवा लगायतका वन्यजन्तुको आक्रमणका कारण मानिसको ज्यान जाने, घाइते हुने, घरमा क्षति पुग्ने, पशुधन मारिने र कृषि बाली नष्ट हुने घटना बढ्दै गएका छन्। नयाँ बीमालेखले यस्ता घटनाबाट पीडित परिवारको आर्थिक भार केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

यो बीमालेख एकीकृत प्रकृतिको हुनेछ र यसको अवधि एक वर्ष रहनेछ। बीमा कम्पनीहरूले यसलाई मुद्रित वा विद्युतीय दुवै माध्यमबाट जारी गर्न सक्नेछन्। बीमालेख जारी भएको मिति र समयदेखि नै जोखिमको रक्षावरण सुरु हुने व्यवस्था गरिएको छ। यसका लागि वार्षिक १ हजार ५०० रुपैयाँ बीमाशुल्क तोकिएको छ।

बीमालेखअन्तर्गत वन्यजन्तुको आक्रमणका कारण बीमितको मृत्यु भएमा वा पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँसम्म क्षतिपूर्ति प्रदान गरिनेछ। अस्थायी पूर्ण अशक्तताको अवस्थामा ५ लाख रुपैयाँसम्म उपलब्ध हुनेछ। उपचार खर्चतर्फ गम्भीर घाइतेलाई अधिकतम १ लाख रुपैयाँ र सामान्य घाइतेलाई २० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

यस्तै, वन्यजन्तुको आक्रमणबाट घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेमा अधिकतम ५ लाख रुपैयाँ, पशुधनको क्षतिमा १ लाख रुपैयाँ र कृषि बालीमा भएको क्षतिका लागि ५० हजार रुपैयाँसम्म बीमा दाबी भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। दुर्घटना खर्चसम्बन्धी सुविधा भने बीमित परिवारका अधिकतम दुई सदस्यलाई उपलब्ध हुनेछ। यदि उपचार खर्चबापत केही रकम भुक्तानी भइसकेपछि बीमितको मृत्यु भएमा, पहिले भुक्तानी गरिएको रकम कट्टा गरी बाँकी रकम मृत्यु दाबीअन्तर्गत भुक्तानी गरिने व्यवस्था पनि गरिएको छ।

प्राधिकरणले यो बीमालेखअन्तर्गत १८ प्रजातिका वन्यजन्तु समेटेको छ। हात्ती, गैंडा, बाघ, भालु, चितुवा, स्याल, मृग, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिंगर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसारको आक्रमणबाट हुने दुर्घटना तथा क्षतिमा बीमा दाबी गर्न सकिनेछ।

नेपाल बीमा प्राधिकरणले यो व्यवस्थाले वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्वबाट प्रभावित समुदायलाई आर्थिक सुरक्षा प्रदान गर्नुका साथै वन क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई न्यून बीमाशुल्कमै आवश्यक राहत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएको छ।