काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिका संयोजक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।
सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ सचिव धनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य छन्।
सेबोनको अध्यक्षमा भट्टका दाइले आवेदन दिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । समितिले वैशाख १३ गते खुलाएको सेबोन अध्यक्षको दरखास्त आह्वानमा ४७ जनाले आवेदन दिएका छन्। जसमा समिति संयोजक भट्टका ठुलोबुबाका छोरा डा. गोपाल भट्टले समेत आवेदन दिएका छन् । दाइले आवेदन दिएपछि स्वार्थको द्वन्द्व हुने भन्दै भट्टले संयोजकबाट राजीनामा बुझाएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
समितिले धितोपत्र बोर्डले नियमन तथा सुपरिवेक्षण गरेको संस्थाका पदाधिकारीहरूले जागिर छोडेको एक वर्ष नभएका व्यक्तिहरूको समेत आवेदन अयोग्य गरेको छ ।








