काठमाडौं। देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको हो।

विभागका अनुसार दिउँसो देशको हिमाली भूभाग तथा कोसी प्रदेशको पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। पहाडी भूभागका साथै कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

ADVERTISEMENT

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ।

कोसी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने विभागले जनाएको छ।

ADVERTISEMENT

रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

विभागले सम्भावित वर्षा, चट्याङ तथा तातो मौसमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।