काठमाडौँ। वसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’को प्रदर्शनबारे देखिएको अन्योल हटेको छ। विवाद र प्रदर्शन रोक्ने हल्लाबीच फिल्म पूर्वनिर्धारित मिति कात्तिक २० गतेदेखि नै देशभरका हलमा प्रदर्शन हुने भएको छ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री विक्रम तिमल्सिनासहित फिल्म निर्माण टोली र केन्द्रीय चलचित्र जाँच समितिका पदाधिकारीबीच भएको छलफलले प्रदर्शन नरोक्ने निष्कर्ष निकालेको हो।
चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार सञ्चारमन्त्री तिमल्सिनाले फिल्म रोक्ने सरकारको कुनै नियत नरहेको र प्रदर्शन रोक्न नहुने धारणा राखेका थिए।
निर्माण टोलीले पनि विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन हुने स्पष्ट पारेको छ। साथै, चलचित्रले कुनै धर्म, धार्मिक आस्था वा धार्मिक स्थलको अपमान गर्ने उद्देश्य नराखेको जनाएको छ।
फिल्म बुधबार नै केन्द्रीय चलचित्र जाँच समितिबाट पारित भई युनिभर्सल सर्टिफिकेट पाइसकेको छ। यससँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन्।
फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ।
किन विवादमा तानियो फिल्म?
फिल्मको ‘राजा चाहियो छ’ बोलको आइटम गीत सार्वजनिक भएपछि विवाद सुरु भएको थियो। यसअघि निर्माण टोलीले इभा गिरीलाई महाभारतकी पात्र द्रौपदीका रूपमा चिनाएको थियो। तर, उनलाई आइटम गीतमा प्रस्तुत गरिएपछि धार्मिक पात्रको चित्रणलाई लिएर सामाजिक सञ्जालमा आलोचना र बहिष्कार अभियान चलेको थियो।
निर्देशक निरौलाले भने गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पारेका थिए।
विवाद बढ्दै जाँदा गृह मन्त्रालयले समेत चासो देखाएको थियो। निर्माण टोलीका एक सदस्यले नेपालगन्जको एक हलमा फिल्म प्रदर्शन गरे तोडफोड गर्ने धम्की आएको जानकारी गृह मन्त्रालयलाई गराएका थिए।
फिल्मका लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक नाटकमा आ










