काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधिसभामा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा मंगलबार रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसदमा उपस्थित गराइने बताए । तर कहिले उपस्थित गराउने भन्ने मिति भने ताेक्न सकेनन् ।
बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित संसदीय उपस्थितिलाई लिएर प्रश्न उठाएपछि रास्वपाले यस्तो प्रतिबद्धता जनाएको हो । बुर्लाकोटी रास्वपाका महामन्त्रीसमेत हुन् ।
प्रधानमन्त्री शाहको संसद् उपस्थितिबारे पछिल्लो समय सत्ता र विपक्षबीच विवाद बढिरहेका बेला रास्वपाको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर रास्वपाबाटै सरकारमा सामेल मन्त्रीको भनाइ भने ठीक विपरीत छ ।
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यक समयमा प्रधानमन्त्री बालेन संसदमा उपस्थित हुने बताएका थिए । सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्रधानमन्त्री उपयुक्त समयमा संसदमा उपस्थित हुने बताए ।
तर त्यसकै भोलिपल्ट रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्री बालेनलाई चाँडै प्रश्नोत्तरमा सहभागी गराइने प्रतिबद्धताले रास्वपा र सरकारका बीचमा समन्वय अभाव देखिएको प्रस्ट हुन्छ । एउटै पार्टीका सांसदले फरक फरक कुरा गर्नुले सरकार र पार्टीबीच संवादहीनताको अवस्था देखिएको हो ।






