काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेको हो । उनी प्राधिकरणकै सहसचिव हुन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो ।

ADVERTISEMENT

प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णयअनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको समेत थप जिम्मेवारी दिइएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि महानिर्देशकको आवेदन खुलाएको थियो । खुला विज्ञापन आह्वान हुँदा डंगोलले पनि आवेदन हालेका थिए । सरकारले बाहिरबाट नभई कर्मचारीलाई नै प्राधिकरणको जिम्मेवारी सुम्पिएको छ ।

बैठकले बर्खे धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मोटो धानको न्यूनतम समर्थन मूल्य ३६ सय ६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य ३८ सय ६० रुपैयाँ प्रति क्विन्टल तोकिएको जानकारी दिए ।

नेपाल–भारत अन्तरदेशीय विद्युत् प्रशारण लाइन आयोजनाका लागि प्रक्रिया अगाढि बढाइएको छ । चिलिमे–केरुङ प्रशारण आयोजना कार्यान्वयनका लागि नेपाल सरकारले चीनलाई जवाफ पठाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई पत्र पठाउने निर्णय गरेको हो ।