काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सहित चार महत्वपूर्ण निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तरपत्र स्वीकृत गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । सरकारले मोटा धानको प्रतिक्वीन्टल मूल्य रु ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्वीन्टल मूल्य रु ३ हजार ८ सय ६० तोकेको छ ।

मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठन गरिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय भएको छ ।