काठमाडौं । ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत छुट हुने भएको छ।
आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरूका प्रतिनिधिहरूबिच सम्पन्न बैठकले उक्त सहमति गरेको हो।
साथै, ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत तथा जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूलाई न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।
‘७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्धारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई बुँदा १ वमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने, जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत उपरोक्तानुसारकै न्यूनतम ५० प्रतिशत५ छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, सहमति भएअनुरुपका विषयहरुलाई आइतबारबाटै कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरुलाई नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ ।








