काठमाडौं। मुलुकको बजेट लेखनको काम अर्थ मन्त्रालयको हो । अर्थमन्त्रीले अर्थशास्त्री र विज्ञसहित मन्त्रालयका कर्मचारीको टिम बनाएर बजेट तयार पार्ने गर्छन् । यसपटक पनि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट लेखिरहेका छन् । तर यसपटक अर्थ मन्त्रालयभन्दा प्रधानमन्त्री कार्यालय बजेट लेखनमा सक्रिय भएको देखिएको छ ।

प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा अहिले अर्थ मन्त्रालय भन्दा प्रधानमन्त्री कार्यालय बढी सक्रिय भएको देखिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बजेटमा निकै रुचि देखाएका छन् । अर्थमन्त्री वाग्लेले बजेट लेखिरहँदा प्रधानमन्त्री बालेनले अर्थ सचिवसहित कर्मचारीलाई बोलाएर बजेटबारे दिनहुँ छलफल गरिरहेका छन् ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेन आगामी बजेटमार्फत् नेपालमा उत्पादन हुने वस्तु आयातमा उच्च भन्सार महसुल लगाउने पक्षमा देखिएका छन् । आयातित वस्तुमा उच्च कर लगाउँदा स्वदेशी उत्पादनको प्रोत्साहन हुने र बजार पनि पाउने बालेनको बुझाइ रहेको बताइएको छ।

कर तथा भन्सार महसुलको दर अन्तिम रातमात्रै यकिन गरिन्छ। तर बजेटका अन्य कार्यक्रमहरू लगभग तय भइसकेकाले बजेट निर्माणमा संलग्न टिम अब राजस्वतर्फ केन्द्रित हुन थालेको छ। यसबारे प्रधानमन्त्री कार्यालयका साथै अर्थ मन्त्रालय निरन्तर छलफलमा छन्। पछिल्ला दुई दिनका छलफल भन्सार महसुल थपघट गर्ने वस्तुहरूमा केन्द्रित छ।

ADVERTISEMENT

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार जुत्ताचप्पल, चाउचाउ, बिस्कुट, कन्फेक्सनरीलगायतमा भन्सार महसुल बढाउने तयारी छ। यस्ता वस्तुहरू धेरै निर्यात पनि हुँदै आएका छन्।

पेन्टस्, प्लास्टिक, चिया, केवललगायत नेपालमा प्रशस्त उत्पादन भइरहेका वस्तुको पनि महसुल बढाइने विषयमा प्रारम्भिक छलफल भएको छ। यी सबै वस्तुमा नेपाल आत्मनिर्भर छ। तर पनि बजारको माग र उपभोक्ताको रोजाइका कारण यस्ता वस्तुहरू आयात पनि उत्तिकै भइरहेका छन्।

प्रशोधित मासु, माछा, सामुन्द्रिक खानाको महसुल बढ्ने देखिएको छ। त्यस्तै सबैखालका तरकारी र फलफूलमा उच्च महसुल लगाउने सरकारको तयारी छ। नेपाल लसुन, प्याज, अफ सिजनका गोलभेडा, काउलीलगायत तरकारीमा आत्मनिर्भर छैन। सिजनमा मात्रै उत्पादन हुने गाँजर, मुलालगायत तरकारी पनि आयात हुने गरेको छ। नेपालमा राम्रो उत्पादन भएका आँपलगायत केही फलमा पनि महसुल बढाउन सकिने गरी छलफल भएको छ।