काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्की सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि नाम टिपाएर पनि अनुपस्थित भएका छन्। संसदको शून्य समयमा बोल्ने सूचीमा नाम रहे पनि सभामुखले तीन पटक बोलाउँदा समेत उनी बैठकमा उपस्थित नभएका हुन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन बनेको आरोप लागेको समाचार सार्वजनिक भएपछि उनी संसदमा अनुपस्थित भएका अनुमान गर्न सकिन्छ ।

ADVERTISEMENT

समाचारअनुसार २६ वर्षीया नाइजेरियन युवती रिता अजुकोले कार्कीसँग आफू लिभिङ रिलेसनशिपमा रहेको तथा गर्भवती भएपछि कार्की सम्पर्कविहीन बनेको आरोप लगाएकी छन्। उक्त विषयमा आधारित सामग्री जनआस्था डटकममा प्रकाशित भएको थियो।

प्रतिनिधि सभा बैठकको शून्य समयमा सभामुख डोलप्रसाद अर्यालले कार्कीको नाम पटक पटक उच्चारण गरेका थिए। तर उनी उपस्थित नभएपछि सभामुखले अर्को सांसदलाई बोल्न समय दिएका थिए।

संसदको शून्य समय जनताका समसामयिक विषय संसदमा उठाउने विशेष समयका रूपमा प्रयोग हुने गर्दछ। यस अवधिमा सांसदलाई एक मिनेटको समय प्रदान गरिन्छ।

समाचारमा सार्वजनिक गरिएका विवरणअनुसार कार्की र अजुकोबीच भएका ह्वाट्सएप संवाद तथा भिडियोसमेत सार्वजनिक गरिएको दाबी गरिएको छ। अजुकोले आफू गर्भवती भएपछि गर्भपतन गर्न चाहेको तर कार्कीले नमानेको उल्लेख गरिएको छ।

सांसद कार्की यसअघि पनि विभिन्न विवादमा तानिएका व्यक्ति हुन्। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा संसद भवनमा भएको तोडफोड तथा आगजनी घटनासँग सम्बन्धित तस्बिर सार्वजनिक भएपछि पनि उनी विवादमा आएका थिए।