काठमाडौं । सर्वोच्च अदालतमा आफ्नो पकड कायम गर्न सत्तारुढ रास्वपाले मंगलबार नै मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्ति गर्ने तयारी थालेको छ । सोही कारण सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको रिट दर्ता गर्न दिएको आदेश ‘होल्ड’ गर्न लगाएर कर्मचारीलाई घर पठाइएको छ ।
सर्वोच्च अदालत प्रशासनमा सोमबार बिहान कार्यालय खुलेदेखि नै सन्नाटा छाएको थियो । मुख्य रजिष्ट्रार, रजिष्ट्रारलगायत अधिकांश कर्मचारी विभिन्न बहानामा कार्यालयमा अनुपस्थित भएपछि रिट तथा अन्य निवेदन दर्ता प्रक्रिया प्रभावित भएको छ।
कामु प्रधानन्यायाधीश मल्लले आज १ बजेभित्र दर्ता प्रक्रिया अघि बढाउन र भोलि पेसी चढाउन आदेश जारी गरेकी थिइन् । त्यसलगत्तै सरकारको दबाबमा मुख्य रजिष्ट्रार विमल पौडेल बिहानैदेखि कार्यकक्षमा देखिएनन् । रजिष्ट्रार मानबहादुर कार्की, सह–रजिष्ट्रार तथा प्रवक्ता अर्जुन कोइरालाले तालिममा रहेको कारण कार्यालयमा उपस्थित हुन नसकेको बताए ।
शर्मालाई मंगलबार नै संसदीय सुनुवाइ समितिमा उपस्थित गराएर भोलि नै अनुमोदन गरेर प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाउने तयारी थालेको छ । सोही कारणले पनि सर्वोच्चका कर्मचारी शर्माविरुद्ध परेको रिट निवेदन दर्ता गर्न डराएका हुन् । यसले गर्दा अब नेपालमा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिका चलाउने दृश्य देखापरेको छ ।
यसैबीच, विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । बार एसोशिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणालगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।
सोमबार कामु प्रधानन्यायाधीश मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेसी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् । उनको आदेश सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरू समीक्षा बास्कोटा, यज्ञमणि न्यौपानेलगायतले आपत्ति जनाएका थिए । उनीहरूले संसदबाटै न्यायाधीशहरूलाई खुला चुनौती दिएका थिए ।












