काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता हुन आएका रिट निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन् । सर्वोच्च अदालतमा दर्ता गर्न ल्याइएका केही रिट निवेदन दरपीठ गरिएपछि कानुन व्यवसायीहरूले गुनासो गरेपछि मल्लले यस्तो निर्देशन दिएकी हुन् ।

कामु प्रधानन्यायाधीश मल्लले आज जारी गरेको लिखित आदेशमा आजै दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्ध परेका निवेदनसमेत दर्ता गरी भोलि जेठ ५ गते मंगलबारका लागि तारेख तोकी पेशीमा चढाउन निर्देशन दिएकी छन् ।

ADVERTISEMENT

यसअघि संवैधानिक परिषद्को बैठकले चौथो बरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा रिट दायर गर्न खोजेका थिए । तर, सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो ।

रिट दरपीठविरुद्ध पुनः रिट दायर गर्न खोज्दा पनि मुख्य रजिस्ट्रारले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए । आज केही कानुन व्यवसायीहरूले कामु प्रधानन्यायाधीश मल्ललाई भेटेरै आफ्नो गुनासो राखेका थिए ।

ADVERTISEMENT

कामु प्रधानन्यायाधीश मल्लले आदेशमा उल्लेख गरेकी छन्, “कानुनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतप्रतिको जनआस्थामाथि अविश्वास बढाउने व्यवहार एवं प्रयास हुने देखिन्छ ।”

उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ बमोजिम प्रधानन्यायाधीशको हैसियतले आवश्यक निर्देशन एवं आदेश जारी गर्नुपरेको उल्लेख गरेकी छिन्  ।