काठमाडौं । रास्वपा उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले पराजुलीले संसदमा बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिएसँगै डिलिट भएको हो । बिहीबार प्रतिनिधिसभाको बैठकमार्फत उनले यस्तो निर्देशन दिएका हुन् ।

सांसद पराजुलीले वैशाख २९ गतेको संसद बैठकमा बोल्ने क्रममा भरौटेहरु र यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरीजस्ता शब्द बोलेको भन्दै हटाउन सभामुखले निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा उनले नियमावलीको नियम १२१ को खण्ड (घ) को स्मरण गराउँदै सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण पनि गराए ।

नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ । साथै, कुनै पनि व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानबारे पनि उनले स्मरण गराए ।