काठमाडौं । १५ मिनेटको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । साढे १ बजे स्थगित भएको बैठक साढे २ बजिसक्दा पनि सुरु हुने छाँटकाँट छैन ।
विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका थिए । प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गर्न माग गरेका थिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी सांसदहरूले विरोध जनाएका हुन् । प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीहरूले नाराबाजी सुरु गरेका थिए ।
विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्ने मौका दिएका थिए । उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै निरन्तर विरोध गरेका हुन् ।
सभामुख अर्याल अहिले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफलमा लागेका छन् । तर एक घन्टा बितिसक्दा पनि कुनै सहमति जुट्न सकेको छैन । श्रम संस्कृति पार्टीले त बैठक नै बहिष्कार गरेर बाहिरिएको छ ।
राष्ट्रियसभाको बैठक पनि पाँच मिनेटका लागि स्थगन भएको छ । सभाअध्यक्ष नारायणप्रसाद दाहालले विशेष कारणवश बैठक पाँच मिनेटका लागि स्थगन भएको बैठकलाई जानकारी दिए ।
त्यसअघि करिब एक घन्टा बैठक सञ्चालन भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।





