काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ १ सय ६५ सिटको नतिजा घोषणा भइसकेको छ। अब आमचासोको विषय बनेको छ, समानुपातिकतर्फको सिट कसरी बाँडिने हो।
निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको कुल सदर मतलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार ‘सेन्ट लग’ विधिबाट सिटमा रूपान्तरण गर्ने जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणाली लागू गरिएको छ।
समानुपातिक प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर दलहरूले बन्द सूचीमार्फत उम्मेदवारी दिन्छन्। दलले पाएको कुल सदर मतको आधारमा समानुपातिक सिटको संख्या निर्धारण हुन्छ।
न्यूनतम ३ प्रतिशत मत अनिवार्य
घिमिरेका अनुसार समानुपातिक सिट पाउन दलहरूले कम्तिमा ३ प्रतिशत मत (थ्रेसहोल्ड) पाउनु अनिवार्य छ। ३ प्रतिशत भन्दा कम मत ल्याउने दल सिट बाँडफाँड प्रक्रियामा सहभागी हुन पाउँदैनन्। थ्रेसहोल्ड पूरा गर्ने दलहरूको मतमात्र सिटमा रूपान्तरण गरिन्छ।
सेन्ट लग विधिबाट बाँडफाँट
दलहरूले पाएको मतलाई १, ३, ५, ७, ९, … जस्ता विषम नम्बरले निरन्तर भाग गर्दा भागफलहरू क्रमबद्ध गरी ठूलोदेखि सानोमा राखिन्छ। समानुपातिकतर्फ जम्मा १ सय १० सिट भएकाले सबैभन्दा ठूला १ सय १० भागफल छनोट गरिन्छ। ती भागफल कुन दलको हो, त्यस आधारमा दलले सिट पाउँछन्। बढी मत ल्याउने दलको भागमा धेरै ठूला भागफल पर्ने भएकाले उनीहरूले बढी सिट पाउँछन्।
सिट पाएपछि नाम सिफारिस प्रक्रिया
सिट संख्या निश्चित भएपछि दलहरूले कानूनले तोकेको समावेशी सिद्धान्तअनुसार (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) ३ दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्छ। आयोगले सूचीमा समावेशी कानून अनुसार नाम छ कि छैन जाँच गरी अन्तिम नाम घोषणा गर्छ।







