काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दीपक भट्टलाई उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सोमबार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै भट्टलाई कारणसहित अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो।
अदालतले भट्टलाई थुनामा राख्नुको कारण खुलाउँदै बन्दीसहित उपस्थित गराउन विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

ADVERTISEMENT

भट्टलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी आयुष्मा नेपालले गत वैशाख १८ गते सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। उक्त रिटमा काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी प्रभागलाई विपक्षी बनाइएको छ।

ADVERTISEMENT

व्यवसायी भट्टमाथि दुईवटा गम्भीर विषयमा अनुसन्धान भइरहेको छ । विभागले उनको सम्पत्तिको स्रोत र वैधतामाथि छानबिन गरिरहेको छ। सेयर बजारसँग सम्बन्धित अनियमितताको आरोपमा सिआइबीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।

भट्टले हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीबाट तीन अर्ब ८१ करोड दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्सलगायत कम्पनीको सेयर किनेको पुष्टि भएको छ । बीमा प्राधिकरणले छानबिन गरेर भट्टमाथि कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको थियो । सोहीअनुसार चैत १९ मा उनी पक्राउ परेका हुन् ।

ADVERTISEMENT