काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो मिलाउन अहिले अनियमित भएका परीक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यसहित अहिले महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइँदै छन्। २०५३ सालदेखिका मौका परीक्षा पनि असारभित्रै सक्ने गरी परीक्षा भइरहेको जनाइएको छ।

ADVERTISEMENT

वैशाख महिनामा मात्रै बिएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, विटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्। यस्तै, जेठ महिनाका लागि तीनवर्षे स्नातक पहिलो वर्ष, चारवर्षे स्नातक पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष र विटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ।

ADVERTISEMENT

असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा सञ्चालन गर्ने तयारी छ। कोरोना महामारी र जेनजी आन्दोलनका कारण रोकिएका परीक्षाहरू असारसम्म सक्ने र त्यसपछि साउनदेखि नियमित तालिकामा फर्किने योजना रहेको छ।

हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी छन्।

ADVERTISEMENT

त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको करिब १०० दिनभित्र नतिजा प्रकाशित गर्ने व्यवस्था लागू गरेको जनाएको छ।