काठमाडौं । सरकारले नदी किनारका साथै सुकुम्वासी बस्तीमा डोजर चलाउँदै गरेका बेला बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्।

वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले यसो गरिएको स्थानीयले बताएका छन्। उनीहरुले सामान पनि सारेका छैनन्। भत्काउने लाइनमै रहेका, तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ।

ADVERTISEMENT

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने उद्देश्यले शुक्रबारदेखि देशभर डोजर चलाउने निर्णय गरेको छ । सोहीअनुसार शुक्रबार बिहानैदेखि टेकु, बल्खु, बालाजुका अतिक्रमित सार्वजनिक जग्गामा डोजर चलाइएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी प्रेस विज्ञ दीपा दाहालले सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले टेकु, वंशीघाट क्षेत्रमा डोजर चलाइएको बताएकी छन् । उनका अनुसार आज ६८६ वटा संरचना हटाउने लक्ष्य राखिएको छ। जसअनुसार बल्खु क्षेत्रका ४८६ टहरा र वंशीघाट क्षेत्रका २०० वटा संरचनाहरूमा डोजर प्रयोग गरी खाली गराउन सुरु गरिएको छ।

ADVERTISEMENT

बर्खायाममा आउने बाढी र डुबानबाट हुनसक्ने ठुलो मानवीय र भौतिक क्षतिलाई रोक्दै नागरिकको जीउधनको रक्षा गर्न सरकारले यो कदमलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने सरकारले जनाएको छ ।