काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी सुलभ अग्रवाललाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ । उनका बाबु शंकरलाल अग्रवालले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले गत चैत २२ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानकै क्रममा उनका बाबु शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको भए पनि उनी हाजिरी जमानीमा रिहा भइसकेका छन् ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा सुलभ अग्रवाल पक्राउ परेका हुन् । करोडौं रुपैयाँ बराबरको शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले करिब साढे दुई वर्षअघि नै उक्त विषयमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको थियो ।
अदालतले सम्बन्धित निकायसँग थुनामा राख्नुको स्पष्ट कारण पेश गर्न आदेश दिएको छ । यस सम्बन्धमा आगामी सुनुवाइपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।








