काठमाडौँ। विज्ञापन बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न सरोकारवाला निकायहरूलाई कडा चेतावनी दिएको छ। विशेषगरी अनधिकृत वेबसाइट, बेटिङ एप तथा सामाजिक सञ्जालमार्फत कानुनले निषेध गरेका सामग्रीको प्रचारप्रसार बढ्दै गएको भन्दै बोर्डले यस्तो आग्रह गरेको हो।

सरकारले चैत १३ गतेको मन्त्रिपरिषद् बैठकमार्फत सबै प्रकारका बेटिङ एप तथा वेबसाइट बन्द गर्ने निर्णय गरिसकेको अवस्थामा पनि यस्ता प्लेटफर्महरूमा विज्ञापन भइरहेको पाइएको बोर्डले जनाएको छ। यसप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बोर्डले गैरकानुनी रूपमा भइरहेका सबै विज्ञापन तुरुन्त बन्द गर्न निर्देशन दिएको छ।

बोर्डका अनुसार, अनुमति नलिएका तथा कानुनविपरीत सञ्चालन भएका डिजिटल प्लेटफर्महरूमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नु आफैंमा कानुन उल्लंघन हो। यस्ता गतिविधिमा संलग्न व्यक्ति, संस्था वा माध्यममाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारिएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ अनुसार जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने, अवैध चिठ्ठा किन्न वा किनाउन उक्साउने तथा अनुमति नलिएका गतिविधिको प्रचार गर्ने विषयमा विज्ञापन गर्न नपाइने व्यवस्था रहेको बोर्डले स्मरण गराएको छ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले गैरकानुनी विज्ञापनसम्बन्धी गतिविधि देखिएमा तत्काल उजुरी गर्न आग्रह गरेका छन्। उनका अनुसार यस्ता कार्य रोक्न सबै सरोकारवालाको सक्रियता आवश्यक छ।

बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, विज्ञापन एजेन्सी तथा सम्बन्धित व्यवसायीहरूलाई कानुनको पालना गर्न र जिम्मेवार ढंगले विज्ञापन सामग्री प्रसारण गर्न आग्रह गरेको छ।

गैरकानुनी विज्ञापनको नियन्त्रणलाई प्रभावकारी बनाउन बोर्डले अनुगमनलाई थप कडा बनाउने संकेत दिएको छ। साथै, यसले समाजमा गलत सन्देश फैलाउने तथा आर्थिक अपराधलाई बढावा दिने सम्भावना रहने भएकाले सबै पक्ष सचेत हुनुपर्ने बोर्डको भनाइ छ।