काठमाडौं । जेनजी आन्दोलनका क्रममा उपत्यकाका दर्जनौं प्रहरी वृत्त र बिट तोडफोड तथा आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छन्।
सिंहदरबार प्रहरी वृत्तअन्तर्गत थापाथली प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउँदै स्थानीयले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडासमेत सुरक्षित राखेका थिए। आन्दोलनकै बीचमा संरचना जोगाउन विशेष पहल गरेका बासिन्दाले सोमबार औपचारिक रूपमा बिटको सरसामानसहित बिटको चाबी बिटका प्रहरी प्रमुखलाई फिर्ता गरेका छन्।
थापाथली सुकुम्बासी बस्तीका अगुवाहरू अध्यक्ष मीनकुमार मगर, सचिव गोपाल पौडेल, सल्लाहकार दलमर्दन कामी, सुमन चौधरी, गणेश राइगाई, बेन्जामुन सुब्बा, आकाश बुढाथोकी, गोपाल माझी र पदम लामालगायतको नेतृत्वमा आयोजित कार्यक्रममा बासिन्दाले प्रहरीलाई स्वागत गर्दै खादा अर्पणसमेत गरेका थिए।
यस अवसरमा सिंहदरबार प्रहरी वृत्तका प्रमुख डिएसपी जनार्दन घिमिरेसँग समन्वय गरेर स्थानीयले प्रहरी बिट थापाथलीका प्रमुख हवल्दार बलबहादुर सुनारसहित पाँचजना प्रहरीलाई स्वागत सम्मान गरेका छन्।
‘देशका करिब ५० प्रतिशत प्रहरी वृत्त र बिट आन्दोलनमा क्षति पुगेको अवस्थामा थापाथली सुकुम्बासीले देखाएको उदाहरणले सम्पूर्ण देशलाई व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्तिको ध्वस्त गर्नु मूर्खता हो, यसलाई राज्य र समाजको सम्पत्ति जोगाउने जिम्मेवारी आम नागरिक हो संरक्षण गर्नुपर्ने सन्देश दिएको छ, यस कार्यले जनताले चाहे भने राज्यको सम्पत्ति र संरचना जोगाउन सक्छन् भन्ने सन्देश दिएको छ,’ अगुवा दलमर्दन कामीले भने ।
हवल्दार बलबहादुर सुनारले बस्तीका सम्पूर्ण बासिन्दा र अगुवाहरूप्रति आभार प्रकट गर्दै भने, ‘तपाईहरूको सहयोगले प्रहरी मात्र होइन, राज्यको सिंगो संरचनालाई नै बल मिलेको छ।’
यो घटनाले आन्दोलनको कठिन परिस्थितिमा पनि जनताको सचेत सहभागिता र जिम्मेवार आचरणबाट राष्ट्रिय सम्पत्ति तथा सुरक्षात्मक संरचना जोगाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।








