काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका वास्तविक सुकुमवासीको समस्या आफ्नो नेतृत्वको सरकारले नै समाधान गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले वास्तविक सुकुमवासीलाई प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गरिने स्पष्ट पारे। ‘वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यही सरकारले गर्नेछ, ढुक्क हुन आग्रह गर्छु,’ उनले उल्लेख गरेका छन्।
सरकारले काठमाडौं उपत्यकाका नदीकिनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गराउने तयारी गरिरहेका बेला प्रधानमन्त्री शाहको यस्तो धारणा आएको हो। यस विषयमा विभिन्न पक्षबाट प्रश्न उठिरहेका छन् भने सुकुमवासीहरू पनि विरोध प्रदर्शनमा उत्रिएका छन्।
प्रधानमन्त्री शाहले वर्षायाममा आउने बाढी तथा डुबानका कारण हुने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका लागि बस्ती व्यवस्थापन आवश्यक भएको बताए। ‘हरेक वर्ष दोहोरिने जोखिमलाई बेवास्ता गर्दै बस्नु उचित हुँदैन, नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्छ,’ उनले भनेका छन्।
उनले सुकुमवासीलाई अव्यवस्थित र जोखिमयुक्त स्थानमा बसिरहन दिनुभन्दा सुरक्षित स्थानमा व्यवस्थित बसोबासको व्यवस्था गर्नु नै राज्यको दायित्व भएको उल्लेख गरेका छन्।। ‘नागरिकको अधिकार सुरक्षित, व्यवस्थित र जोखिमरहित बसोबास हो,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहले विगतमा सुकुमवासी समस्या दीर्घकालीन रूपमा समाधान नगरी राजनीतिक मुद्दाका रूपमा मात्रै प्रयोग गरिएको संकेत गर्दै अब त्यसको स्थायी समाधान खोजिने बताएका छन्।
सरकारले सुकुमवासी पहिचान, अतिक्रमण नियन्त्रण तथा वैकल्पिक आवास व्यवस्थापनलाई समेटेर समग्र योजना अघि बढाउने तयारी गरिरहेको जनाएको छ।







