काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार सबै विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन् । बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको प्रधानमन्त्री बालेनका प्रेस सहयोगी दीपा दाहालले जानकारी दिइन् ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ । यस्तै, कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ ।
सचिवालयका अनुसार बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन् । त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनेछन् ।
नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्ने भएका छन् ।
छलफलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलाई बोलाइएको छ । सबै पदाधिकारीलाई आफूले गर्नुपर्ने कामको रोस्टर मागिएको छ ।






