काठमाडौं — जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ। तर उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा पुर्पक्षका लागि थुनामै रहेकाले तत्काल रिहा हुने छैनन्।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार लामो सुनुवाइपछि तीनवटा फरक मुद्दामा थुनछेक आदेश जारी गर्दै भट्ट र अग्रवालसँग धरौटी माग गरेको हो।

बिमा ऐनअन्तर्गतको कसुरमा अदालतले दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ र सुलभ अग्रवालसँग २ करोड रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, धितोपत्रसम्बन्धी कसुरमा भट्टसँग १ करोड रुपैयाँ र अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ।

ADVERTISEMENT

हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीसम्बन्धी अर्को मुद्दामा समेत अग्रवालसँग अदालतले २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

ADVERTISEMENT

बिमा तथा धितोपत्रसम्बन्धी मुद्दामा धरौटी बुझाए पनि उनीहरू थुनामुक्त हुन पाउने छैनन्। विशेष अदालतमा चलेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरू पुर्पक्षका लागि थुनामै रहेका कारण रिहाइ रोकिएको हो।

ADVERTISEMENT

यसअघि बिहीबार नै व्यवसायी दीपक भट्ट, एमाले नेता राजेन्द्र पौडेलसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र विशेष अदालतमा दर्ता भएको छ। उक्त मुद्दामा १० वटा कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ।