काठमाडौं । सरकारी अस्पतालहरूको ओपीडी सेवा आइतबारदेखि पुनः बन्द हुने भएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय कार्यान्वयनसँगै आइतबारको ओपीडी सेवा बन्द रहने जनाएको हो।
यसअघि बिरामी मर्कामा पर्ने भन्दै मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सञ्चालन गर्न आग्रह गरेको थियो। तर चिकित्सक संघले आइतबार सेवा सञ्चालन गर्न नसकिने बताएपछि सरकार पुनः दुई दिन बिदा लागू गर्ने निर्णयमा पुगेको हो।
स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा पेशागत संगठनको दबाबपछि सरकारले अस्पतालमा पनि सातामा दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो । यससँगै देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपीडी सेवा बन्द हुनेछ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवामा कुनै अवरोध नहुने स्पष्ट पारिएको छ। आकस्मिक तथा अन्तरंग (इनडोर) सेवा भने २४ सै घण्टा निरन्तर सञ्चालनमा रहने व्यवस्था गरिएको छ।
‘मन्त्रिपरिषद्को निर्णयानुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको हप्तामा दुई दिन सार्वजनिक बिदाको नीतिअनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझैँ २४ सै घन्टा सुचारू रहने जानकारी गराइन्छ,’ स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले बिदाका दिनमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत भनेको छ ।







