काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला प्रतिस्पर्धा र योग्यता मूल्यांकनका आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने स्पष्ट नीति लिएको जनाएको छ।मन्त्रालयका अनुसार हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण विभिन्न स्वास्थ्य निकाय नेतृत्वविहीन बनेका थिए।

नेतृत्व अभावले बिरामीको उपचार सेवा, दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाहमा असर नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले तत्कालका लागि कार्यवाहक प्रमुखहरूको नियुक्ति गरेको जनाएको छ।

ADVERTISEMENT

मन्त्रालयले स्पष्ट पारेको छ कि यी नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हुन्।सरकारले स्वास्थ्य क्षेत्र सुधार र योग्य नेतृत्व चयनमा कुनै सम्झौता नगर्ने नीति अनुरूप छिट्टै खुला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र बनाएको जनाएको छ।पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि विभिन्न संस्थामा निम्न पदाधिकारीलाई कार्यवाहक जिम्मेवारी तोकिएको छ।

वीर अस्पतालको निमित्त निर्देशकमा प्रा. डा. प्रभा कोइराला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा. डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा. डा. विनम्र विष्टलाई जिम्मेवारी दिइएको छ।

ADVERTISEMENT

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सह-प्रा. डा. इन्द्र लिम्बु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा सह-प्रा. डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा डा. उमेश नेपाललाई कार्यवाहक जिम्मेवारी दिइएको छ।

यस्तै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह-प्रा. डा. रविन्द्रभक्त तिमला तथा स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापतिलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।