काठमाडौं । स्वास्थ्य मन्त्रालयले गत भदौमा जेनजी आन्दोलनका क्रममा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको दाबी गरेको छ । मन्त्रालयका कर्मचारीले जलेका गाडीको नाममा इन्धन कुपन लिने गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सोमबार यसबारे आधिकारिक धारणा बाहिर ल्याएको हो ।
जलेका गाडीका नाममा कर्मचारीले इन्धन लिने गरेको बाहिरिएपछि एक साताअघि स्वास्थ्यमन्त्री निशा मेहताले प्रशासन सचिवलाई छानबिन गर्न निर्देशन दिएकी छन् । छानबिनका क्रममा कुनै पनि कर्मचारीले इन्धन दरुपयोग नगरेको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ ।
‘कर्मचारीहरुले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनहरुको नाममा इन्धन दुरुपयोग गरेको भन्ने विषयमा विभिन्न समाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहप्रपक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा छ, ‘उक्त विषयको सत्यतथ्य छानबिन गर्न मिति २०८३/०९/१५ गते मन्त्रालयका सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो, उक्त समितिले जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अर्धकट्टी) भुक्तानी विवरणलगायतका सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत) तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।











