काठमाडौं । सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारलले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा आज भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो । तर आकस्मिक तथा अन्तरंग (इनडोर)सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार साताको दुई दिन ओपिडी सेवा बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप विस्तार गर्ने तयारी गरेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो ।

यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका थिए । मन्त्रालयको उक्त अडानविरुद्ध स्वास्थ्यकर्मीहरूले संयुक्त आन्दोलनको चेतावनी दिएपछि अन्ततः सरकारले अस्पतालहरूमा पनि दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो ।