काठमाडौं। नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’को रूपमा मनाउने योजना अघि सारेको जनाएको छ।
बैंकका अनुसार “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एपमार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताले वैशाख महिनाको पहिलो हप्ताभित्र कम्तीमा एक सफल कारोबार गरेमा गोलाप्रथाबाट ३ जना भाग्यशाली ग्राहकले आकर्षक भ्रमण प्याकेज जित्ने अवसर पाउनेछन्। विजेताहरूले आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना जस्ता प्रमुख गन्तव्यहरूमा आफ्नो जोडीसहित भ्रमण गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न मोबाइल बैंकिङमार्फत गरिने विभिन्न कारोबारमा रिवार्ड पोइन्ट प्रणालीलाई अझ सशक्त बनाउने जनाएको छ। प्रयोगकर्ताले प्राप्त गर्ने पोइन्टहरू मोबाइल एपमै जम्मा हुनेछन्, जसलाई विभिन्न सामान खरिद तथा अन्य सेवामा प्रयोग गर्न सकिनेछ। उक्त एप प्ले स्टोर र एप स्टोर दुवैमार्फत डाउनलोड गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।
नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरमा “महालक्ष्मी घर कर्जा” योजना पनि सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत आवासीय वा व्यावसायिक घर–जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, थप निर्माण, पुनर्निर्माण तथा मर्मतका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्म कर्जा उपलब्ध गराइनेछ। विशेष रूपमा, कर्जाको ब्याजदर ७ वर्षसम्म स्थिर रहने सुविधा समेत प्रदान गरिएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात् गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।






