पूर्वाधार विकास मन्त्रालयले अध्ययन तथा असाधारण विदा समाप्त भएपछि पनि कार्यक्षेत्रमा नफर्किएका सात जना इन्जिनियरलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न अन्तिम अवसर दिएको छ। मन्त्रालयले २०८३ साउन १२ गते सार्वजनिक सूचना जारी गर्दै निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा जवाफ मागेको हो।

स्पष्टीकरण सोधिएका इन्जिनियरहरूमा नेपाल इन्जिनियरिङ सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्। मन्त्रालयका अनुसार अधिकांश इन्जिनियर विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएको पाइएको छ भने पदमेन्द्र प्रसाद श्रेष्ठ विदा स्वीकृत नगराई नै अनुपस्थित रहेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

मन्त्रालयले यसअघि गत असार २३ गते गोरखापत्रमार्फत १५ दिनभित्र सफाई पेश गर्न सूचना प्रकाशित गरेको थियो। सो अवधिमा पुजन न्यौपाने र सृष्टि भुषालले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभएको मन्त्रालयको निष्कर्ष छ। बाँकी पाँच जनाले भने तोकिएको समयभित्र कुनै पनि जवाफ नदिएपछि पुनः ३० दिनको अन्तिम म्याद दिइएको हो।

ADVERTISEMENT

मन्त्रालयले अबको ३० दिनभित्र पनि चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा अन्य विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।