काठमाडौं। प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा चैत २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ। शिविरमा जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई परामर्श, उपचार तथा शल्यक्रियासम्मका सेवा निःशुल्क प्रदान गरिने जनाइएको छ।

सुर्खेतमा सञ्चालन हुने उक्त शिविरबाट करिब ५० जना जलन पीडित लाभान्वित हुने बैंकको अपेक्षा छ। शिविरमा आएका जटिल प्रकृतिका बिरामीलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको यस शिविरलाई आगामी दिनमा लुम्बिनी प्रदेश तथा मधेश प्रदेशका जनकपुर र वीरगञ्जमा समेत विस्तार गर्ने योजना बैंकको रहेको छ।

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन गरिएको पहिलो शिविरमार्फत ६५ जना जलन पीडितले निःशुल्क उपचार पाएका थिए। तीमध्ये २० जनाको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने १८ जना जटिल बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो।

शिविरमा आगोले पोलेर शरीरका भागहरू आपसमा टाँसिएका (बर्न कन्ट्र्याक्चर), हातका औँलाहरू जोडिएका बिरामीहरूले निःशुल्क उपचार पाउनेछन्। साथै जन्मजात ओठ–तालु चिरिएका, औँला जोडिएका वा बढी भएका तथा चोटपटकका कारण समस्या भएका व्यक्तिहरूले पनि परामर्श सेवा लिन सक्नेछन्।

नेपालमा जलनका घटनाका पीडितलाई तत्काल विशेष हेरचाह आवश्यक हुने भए पनि धेरै स्थानमा विशेषज्ञ उपचार केन्द्रको अभाव रहेको छ। यसै अवस्थालाई ध्यानमा राख्दै जलन पीडितहरूको उपचारमार्फत जीवनस्तर सुधार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बैंकले जनाएको छ।

नबिल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्य गर्दै आएको छ। नबिल एसएसई पहलमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउँदै दिगो विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै आएको छ।