काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा र चुनाव रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले तत्कालका लागि साधारणसभा र चुनाव रोक्न आदेश दिएको हो ।
बिहीबार उच्च अदालतका न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको मागबमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासंघको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
‘मिति २०८१–११–१६ मा जारी भएको परमादेश बमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारणसभा हुँदा यी निवेदकहरुसमेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्नु, नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार गर्नु,’ आदेशमा भनिएको छ ।
आगामी आइतबार र सोमबार (चैतको २९ र ३० गते) हुने महासंघको ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी थियो । चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासंघ, महासंघको कार्यकारिणी समिति, महासंघको सदस्यता समिति र महासंघको निर्वाचन समितिलाई विपक्षी बनाइएको थियो।
रिटमा चैत २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो। बिहीबार उच्च अदालतले सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।







