काभ्रे। लगातार वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग करिब ३६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। शुक्रबार साँझदेखि अवरुद्ध बनेको राजमार्ग आइतबार बिहान ६ बजेदेखि दुवै तर्फबाट यातायातका लागि खुलाइएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार विभिन्न निकायको संयुक्त प्रयासमा सडक खुलाइएको हो। सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा पहिरो हटाउने र सडक सफा गर्ने कार्य सम्पन्न गरिएको उनले जानकारी दिए।

वर्षासँगै आएको बाढी र पहिरोका कारण राजमार्गका विभिन्न स्थानमा माटो र ढुंगा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसले यात्रु तथा सवारीसाधनलाई ठूलो समस्या पारेको थियो भने वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य हुनुपरेको थियो।

अहिले सडक खुलाइए पनि कतिपय स्थानमा जोखिम अझै कायम रहेको प्रहरीको भनाइ छ। त्यसैले मौसमको अवस्था र सडकको संवेदनशीलतालाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रहरीले पुनः वर्षा भएमा पुनः पहिरो जान सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न समेत सुझाव दिएको छ।