काठमाडौँ। कञ्चनपुरमा नेपाली कांग्रेस कार्यकर्ताहरूले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेका छन्।
शनिबार कञ्चनपुर जिल्लाको विभिन्न स्थानमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिँदै विरोध जुलुस निकालेका हुन्। उनीहरूले “रमेश लेखकलाई तुरुन्त रिहा गर”, “राजनीतिक प्रतिशोध बन्द गर” जस्ता नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा केही समय यातायातसमेत प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।
नवगठित सरकारद्वारा पक्राउ गरिएका पूर्व गृहमन्त्री लेखकलाई भाद्र २३-२४ मा काठमाडौँमा भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीहरुको गोलीहानी भएको हत्याको घटनामा संलग्न भएको आरोप लगाइएको छ। उक्त घटनामा काठमाडौंमा भएको सामूहिक आन्दोलनका क्रममा नागरिकको ज्यान गएको थियो, जसलाई लिएर गौरी बहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन समितिले लेखकलाई दोषी जनाएको छ ।
यद्यपि, नेपाली कांग्रेसले भने यो कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। पार्टीका स्थानीय नेताहरूले लेखक निर्दोष रहेको दाबी गर्दै तत्काल बिना शर्त रिहा गर्न माग गरेका छन्। “यो गिरफ्तारी कानुनी प्रक्रिया होइन, प्रतिशोधको राजनीति हो,” एक प्रदर्शनकारीले बताए।








