काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको धरौटी आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा निवेदन दायर गरेको छ।

अख्तियारले मंगलबार (चैत २४) सर्वोच्च अदालतमा निवेदन दायर गर्दै उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधिलगायतलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको हो। विशेष अदालतले आरोपितहरूलाई साधारण तारिख र न्यून धरौटीमा छाडेको भन्दै अख्तियारले उक्त आदेश बदर गरी थुनामा राख्नुपर्ने जिकिर गरेको छ।

ADVERTISEMENT

मुख्य आरोपितमध्ये चाइना सीएमसी इन्जिनियरिङका प्रतिनिधि रबिन रिजाललाई २५ लाख रुपैयाँ, रतीशचन्द्र लाल सुमनलाई ५ लाख रुपैयाँ र भीमप्रसाद आचार्यलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो। साथै, डा. पुण्यराज शाक्य, हरिबहादुर खड्का र रोशन चित्रकारलाई साधारण तारिखमा छाडिएको निर्णयप्रति पनि अख्तियारले आपत्ति जनाएको छ।

उनीहरूविरुद्ध गत मंसिर २१ गते विशेष अदालत मा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। अख्तियारका अनुसार आरोपितहरूलाई बाहिरै राख्दा प्रमाण नष्ट हुन सक्ने र उनीहरू फरार हुन सक्ने जोखिम रहेको छ। यस आधारमा साधारण तारिख र न्यून धरौटीमा छाड्ने आदेश ‘बेरितको’ रहेको भन्दै पुनरावलोकनको माग गरिएको हो।

ADVERTISEMENT

अख्तियारले विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ हानीनोक्सानी पुर्‍याइएको दाबी गरेको छ। उक्त रकम करिब ७ करोड ४३ लाख अमेरिकी डलर बराबर हुने बताइएको छ।

अभियोगअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन पदाधिकारी र निर्माण व्यवसायीबीच मिलेमतो गरी लागत इस्टिमेटलाई २४ करोड ४० लाख डलरसम्म पुर्‍याइएको थियो, जसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ।