काठमाडौं। काठमाडौंको भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको ओमजनता यातायातको बसले काठमाडौं महानगरपालिका–१२ भोटेबहालमा ठक्कर दिँदा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

गम्भीर अवस्थामा उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको भए पनि उनीहरूको गएराति उपचारकै क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसका चालक, दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीले गरिरहेको प्रहरीले जनाएको छ।