चितवन। पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियार घाइते भएपछि उपचारका लागि भरतपुर लगिएकामा बिहान १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो।

बसका चालक, कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय सुभाष विश्वकर्मा, र बसलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।